काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्तिको रुपमा रहेको दाबी गर्नुभएको छ । पार्टी निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा शुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले एमाले मुलुकमा अरु पार्टी भन्दा बढि बलियो, व्यापक र अग्लो रहेको बताउनु भयो । उहाँले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरु लागेपनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिलासँगलाई धन्यवाद पनि दिनुभयो । पार्टीमा आवद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको ओलीको भनाई थियो । 

अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्यादेवी भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि दोहो¥याउनु भयो । त्यस अवसरमा उहाले पार्टी भित्र गुटबन्दी नगर्न पनि निर्देशन दिनुभयो । एमाले भित्र अहिले कुनैपनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहीत स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराउनु भयो । उहाँले पार्टी भित्र योग्यता, क्षमता र काम गरेर जिम्मेवारी दिइने पनि स्पष्ट पार्नुभयो । 

ओलीले अखिल नेपाल महिला संघले पनि ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्ने बताउनु भयो ।