कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ ।
पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ बिरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो ।
केही दिन यता नेपालमा दनिक एक सयको हाराहारिमा संक्रमितहरु बढीरहेका छन् । यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताउनु भयो ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कोरोना भाइरस बढीरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताउनु भयो । उहाँले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातीको रहेको बताउनु भयो ।
डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गर्नुभयो । उहाँले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताउनु भयो । कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ ।
डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गर्नुभयो । उहाँले कोरोना संक्रमणलाई थप बिस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिनुभयो । उहाँले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताउनु भयो ।








