काठमाण्डौ । नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिनुभयो ।
सोमबार काठमाण्डौमा भएको कार्यक्रममा बोल्दै डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताउनुभयो । उहाँले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताउनुभयो । डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेलापनि डेंगु सर्न सक्ने बताउनुभयो । हाल सम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निशुल्क हुने गरेको बताउनुभयो । डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले डेंगुबाट बच्न लार्भा खोज र नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । लामखुट्टे बस्ने बासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्ने बताउनुभयो ।
नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो ।







