ललितपुर । पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठक वर्गले उल्लेख्य उपस्थिति जनाएका छन् ।

असोज ७ गतेदेखि ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको प्राङ्गणमा शुरु भएको प्रदर्शनीमा पाठकहरु तानिएका हुन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्मको छुट दिएको छ । ७ गतेदेखि आजसम्म पाठकहरु उल्लेख्य उपस्थित भएको र अझै २२ गतेसम्ममा धेरै पाठकहरुले प्रदर्शनीमा उपस्थिति जनाउने अपेक्षा आफूहरुको रहेको साझा प्रकाशनका निमित्त महाप्रवन्धक भेषराज घिमिरेले बताउनु भयो ।

उहाँले प्रदर्शनीमा यस पटक भैरवबहादुर थापाको अल्फा साइन्स (नाट्य व्याकरण) नयाँ पुस्तकका रुपमा रहेको र बाबुराम आचार्यले लेख्नुभएको पृथ्वीनारायण शाहको जीवनीलाई पुनः मुद्रण गरेर प्रदर्शनीमा राखिएको बताउनु भयो । उहाँले प्रदर्शनी स्थललाई व्यवस्थित गर्दै लगेको र  ५ सय बढी विधाका पुस्तकहरु प्रदर्शनीमा राखिएको बताउनु भयो । उहाँले पहिला आख्यानहरु धेरै बिक्री हुने गरेपनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुची बढ्दै गएको बताउनु भयो । उहाँले देशभर गरेर ४० लाखसम्मको पुस्तक बिक्री हुने अनुमान रहेको पनि बताउनु भयो । 

साझा प्राशनले पुस्तक टिकाउन समस्या रहेको उल्लेख गर्दै पुराना पुस्तकहरु जोगाएर राख्न सक्नुपर्ने बताएको छ । पुराना पुस्तकहरुमा पाठकको चाहना बढेकाले पुराना पुस्तकहरु बचाएर राख्नुपर्ने कर्तव्य र जिम्मेवारी आफूहरुको भएको बताउनु भयो ।