काठमाडौं: नेपाली संगीत बजारमा तिहारको उत्साहलाई थप उज्यालो बनाउन गायक, गीतकार तथा संगीतकार डी.बी. खड्काको नयाँ तिहार गीत ‘एक कदम‘ सार्वजनिक भएको छ। तिहार जसले घरघरमा प्रेम, उज्यालो, र संगीतको रौनक ल्याउँछ, त्यही भावनालाई यो गीतले समेटेको छ।
गीत ‘एक कदम‘ मा देउसी–भैलोको मौलिक रिदम, दिदी–भाइबीचको अटुट माया र लक्ष्मीपूजाको धार्मिक तथा सांस्कृतिक भव्यतालाई मीठो धुनमा झल्काइएको छ।
यस गीतमा डी.बी. खड्का को स्वर, शब्द र संगीत रहेको छ। संगीत संयोजन (Arrangement) मा राजेन्द्र वाइबा ले आफ्नो कला देखाएका छन्। भिडियोमा मुख्य कलाकारको रूपमा सोबित प्रसाई र डी.बी. खड्का सँगै रिदममा खड्का लाल बहादुर खड्का, साबित्रा खड्का लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ।
भिडियोको छायाङ्कन उमेश शाह ले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाह ले गरेका छन्। गीतलाई डी.बी. खड्का आफैँले निर्देशन गरेका छन्।
‘एक कदम‘ ले तिहारको अवसरमा परदेशमा रहेका नेपालीहरूलाई घर, परिवार र संस्कृतिसँग जोड्ने प्रयास गरेको छ। यसले देउसी-भैलोको परम्परागत लयलाई आधुनिक संगीतसँग मिलाएर युवापुस्तालाई पनि आकर्षित गरेको छ। गीतमा प्रयोग भएको शब्द र दृश्यले नेपाली समाजको तिहार मनाउने शैलीलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
साँस्कृतिक पर्वहरूलाई संगीतको माध्यमबाट जगेर्णा गर्ने खड्काको यो प्रयासले नेपाली दर्शक र श्रोताबाट राम्रो प्रतिक्रिया पाएको छ। तिहारको यस पावन अवसरमा ‘एक कदम’ गीतले हरेकको घरमा खुसी र सद्भावको ‘एक कदम‘ बढाउने अपेक्षा गरिएको छ।









