काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोर्ष परिवर्तन गर्न भन्दै राजतन्त्र पुनःस्थापना गर्नुपर्छ भन्नेहरूको बैठक बसिरहेको बताएका छन् ।

पार्टी निकट भूतपूर्व सेना तथा प्रहरीको प्रशिक्षण कार्यक्रममा उनले राजतन्त्र पुनर्स्थापित गर्नुपर्छ भन्दै बैठकहरू हुने गरेको उल्लेख गरेका हुन ।

अध्यक्ष नेपालले तत्कालीन राजाहरू भ्रष्टाचारबाट मुक्त, सुशासनका पक्षपोषक र त्यागी नभएको बताए। उनले राजनीतिले एउटा दिशा लिएको र कसैले टाउको फुटाए पनि परिवर्तन नहुने बताए ।

“कोर्ष परिवर्तनका लागि भन्दै अहिले तपाईं देखिरहनुभएको छ, राजा आऊ, देश बचाऊ भन्ने । राजतन्त्रलाई पुनःस्थापना गर्नुपर्छ भन्नेहरू देखिरहेका छन् । तीनका मिटिङ, बैठक बसिरहेका छन्,”

उनले आफ्नो पार्टीले गठबन्धनमा सम्मानजनक भूमिका पाउने बताए । एमाले नेतृत्वमा रहेको अहंकारको कारणले प्रतिनिधिसभाको निर्वाचनमा केही धक्का खाएको नेपालको जिकिर थियो ।