काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्लाकि भन्ने डर रहेको टिप्पणी गर्नुभएको छ । 

मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उहाँले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताउनुभएको हो । शुक्रवार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गर्नुभयो ।

उहाँले बालबालिकाहरुलाई भने डर दिनेगरी शैक्षिक वातावरण बनाउन नहुने बताउनु भयो । बालबालिकाहरुलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उहाँको भनाई थियो । महामन्त्री थापाले सानासाना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हुने भएकाले उनीहरुलाई प्रोत्साहित हुनेगरी शिक्षा दिनुपर्ने बताउनु भयो । 

महामन्त्री थापाले बालबालिकाहरुलाई एकअर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरुलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताउनु भयो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रश्तुत गरेका थिए ।