काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावलीसहितको प्रश्ताव पार्टीको केन्द्रिय सचिवालयमा छिटो पेस गर्न तीन सदस्यीय कार्य दललाई निर्देशन दिएको छ । 

मंगलवार काठमाडौंको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टी केन्द्रिय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरुको नामावलीसहितको प्रश्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो । कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रश्तावित मन्त्रीहरुको नामावलीसहितको प्रश्ताव छिटो पार्टी केन्द्रिय सचिवालयमा पेस गर्न निर्देश गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सो प्रश्तावमाथि छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुबारे टुंगोमा पुग्ने सकिने उहाँको भनाई थियो । 

त्यसैगरी बैठकले मिटरब्याज पीडितहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ । मिटर ब्याज लगाउनेहरुलाई कारबाही गर्न पनि सरकारलाई सचेत गराइएको पनि प्रवक्ता खतिवडाले बताउनु भयो । 

बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटीसदस्य चुडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरिएको नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।