काठमाडौं  । सत्तारुढ नेपाली कांग्रेसको आज (शुक्रबार) देखि १४ औं महाधिवेशन शुरु हुँदैछ । ५६ जिल्लाहरुका क्रियाशील सदस्यताको नामावली वेबसाइटमार्फत सार्वजनिक गरेर कांग्रेस महाधिवेशनमा होमिन लागेको हो ।

कांग्रेसले शुक्रबार क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका जिल्लामध्ये अधिकांश जिल्लाहरुमा वडा अधिवेशन गर्दैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि ५६ वटै जिल्लाहरुमा केन्द्रबाट निर्वाचन अधिकृतहरु खटाएको छ ।

यद्यपि, निर्वाचन अधिकृत खटिएका सवै जिल्लाहरुमा वडा अधिवेशन शुरु भने नहुने देखिएको छ । तयारी नपुगेको भन्दै केही जिल्लाहरुले शुक्रबार वडा अधिवेशन गर्न नसकिने निर्णय गरेका छन् । नामावली प्रकाशित भइसकेका नुवाकोट, प्युठान, बाग्लुङ, डडेल्धुरा, झापालगायतका जिल्लाहरुले केन्द्रबाट उपलब्ध गराइएका निर्वाचन सामग्रीहरु बाढी–पहिरोका कारण आउन ढिलाइ भएको भन्दै वडा अधिवेशन पछि सारेका छन् ।

यद्यपि, कांग्रेसका शीर्ष नेताहरुका बीचमा यसअघि ७५ वटै जिल्लाका ६ हजार ७४३ वडाहरुमा अधिवेशन एकसाथ शुरु गर्ने समझदारी बनेको थियो । निर्वाचन समितिले ५६ मध्ये ४५ जिल्लामा वडा अधिवेशन शुरु हुन सक्ने जनाएको छ ।

‘कति वडामा अधिवेशन हुन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन । ५६ जिल्लामा हामीले निर्वाचन अधिकृत खटाएका छौं,’ समिति सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले भने, ‘४५ भन्दा बढी जिल्लामा वडा अधिवेशन हुन्छ कि भन्ने अनुमान छ ।’ उनले शनिबार मात्रै पहिलो दिन वडा अधिवेशन गर्ने जिल्ला र वडाहरुको संख्याका बारेमा थाहा हुने पनि बताए ।

‘आज ९शुक्रबार० बेलुकी वा भोलि ९शनिबार० सम्म वडा अधिवेशन गर्ने जिल्ला र वडाको संख्या थाहा होला,’ वरिष्ठ अधिवक्ता घिमिरेले भने । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले क्रियाशील सदस्यहरुको नामावली प्रकाशित भएका जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृत खटाइएकोे जानकारी दिए ।

निर्वाचन अधिकृत खटाइएका जिल्लाहरुमा निर्वाचनका लागि आवश्यक सामग्री समेत पठाइसकिएको उनले बताए । कांग्रेसले यसपाली क्रियाशील सदस्यहरुको संख्या वृद्धि गरेर झण्डै नौ लाख पुर्‍याएको छ । कांग्रेसका यी क्रियाशील सदस्यहरु पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्न पाउने विधानले व्यवस्था गरेको छ । गाउँपालिका वडा अधिवेशनले वडाका क्रियाशील सदस्यहरुले सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ ।

कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्र गाउँपालिका(नगरपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न पाउने कांग्रेसको वैधानिक व्यवस्था छ । यस्तै सभापतिले वडा कार्यसमितिका निर्वाचित सदस्यहरुमध्येबाट कोषाध्यक्ष चयन गर्न पाउने व्यवस्था विधानमा गरिएको छ । विधानअनुसार तीन महिलासहित नौ जना प्रत्यक्ष निर्वाचित सदस्य, महिला, दलित, आदिवासी–जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पछिडिएको क्षेत्रबाट ६ जना, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ ।

गाउँपालिका वडा कार्यसमितिको सभापतिलाई कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ । यस्तै १ सय ५० वा सो भन्दा कम क्रियाशील सदस्य भएको वडामा गाउँपालिकाका वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि तीन महिलासहित नौ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने प्रावधान कांग्रेसको छ ।

१५० वा त्योभन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति सय थप क्रियाशील सदस्यमा २ महिलासहित ६ जना थप क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् । वडा सभापति भने स्वतः प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुन्छ ।
कांग्रेसको गाउँपालिका वडा कार्यसमितिले महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछाडिएको क्षेत्रबाट १ सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा गरिने निर्वाचनबाट निर्वाचित सदस्य संख्याको दुईतिहाइ संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधानमा उल्लेख छ ।

नगरपालिका वडा अधिवेशनमा पनि वडाका क्रियाशील सदस्यहरुले सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्र नगरपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न पाउने कांग्रेसको वैधानिक व्यवस्था छ ।

यस्तै सभापतिले वडा कार्यसमितिका निर्वाचित सदस्यहरुमध्येबाट कोषाध्यक्ष चयन गर्न पाउने व्यवस्था विधानमा गरिएको छ । विधानअनुसार ४ महिलासहित १२ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ८ जना सदस्य, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ ।

नगरपालिका वडा कार्यसमितिको सभापतिलाई कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ ।

उपमहानगरपालिका÷महानगरपालिका वडा अधिवेशनले पनि गाउँपालिका÷नगरपालिका वडा अधिवेशनकै अनुपातमा सभापति, उपसभापति, सचिव, सहसचिव प्रत्यक्ष निर्वाचित गर्नु पर्दछ भने कोषाध्यक्ष पनि वडा कार्यसमितिका निर्वाचित सदस्यहरुमध्येबाट चयन गर्न पाउने व्यवस्था विधानमा छ ।

उपमहानगरपालिका वडा अधिवेशनमा विधानअनुसार ५ महिलासहित १५ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी–जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पछिडिएको क्षेत्रबाट १० जना सदस्य, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ । उपमहानगरपालिका वडा कार्यसमितिको सभापतिलाई पनि कार्यसमितिमा एकतिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ ।

महानगरपालिका वडा अधिवेशनमा विधानअनुसार ६ महिलासहित १८ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी–जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पछिडिएको क्षेत्रबाट १२ जना सदस्य, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ ।

महानगरपालिका वडा कार्यसमितिको सभापतिलाई पनि कार्यसमितिमा एकतिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ । नगर, उपमहानगर र महानगरपालिका वडा अधिवेशनमा १ सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि ३ महिलासहित ९ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने प्रावधान कांग्रेसको छ ।

१५० वा त्योभन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति सय थप क्रियाशील सदस्यमा २ महिलासहित ६ जना थप क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् । वडा सभापति भने स्वतः प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुन्छ ।

कांग्रेसको नगर, उपमहानगर र महानगरपालिका वडा कार्यसमितिले महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछाडिएको क्षेत्रबाट १ सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा गरिने निर्वाचनबाट निर्वाचित सदस्य संख्याको दुईतिहाइ संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधानमा उल्लेख छ ।

नगर, उपमहानगर र महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिहरु स्वतः क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था कांग्रेसको विधानमा छ । निर्वाचन समितिले ६ हजार ७४३ वडामा अधिवेशन सम्पन्न भए ४७ हजार २०१ पदाधिकारी र एक लाख २१ हजार ६८१ सदस्यहरु निर्वाचित हुने जनाएको छ । यस बाहेक मनोनित हुनेको संख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

गत साउन ३० गते देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । यस्तै गाउँ(नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने योजना कांग्रेसले बनाएको छ । प्रदेश क्षेत्र क(ख को अधिवेशन असोज १ गते हुनेछ भने संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गरिने छ । जिल्ला अधिवेशन असोज १० का लागि निर्धारण गरिएको छ ।

कांग्रेसले प्रदेश कमिटीको अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने योजना बनाएको छ । कांग्रेसले तल्लो तहका अधिवेशनहरु सम्पन्न गरेर मंसिर ९ गतेदेखि १३ मा केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ । यसअघि गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पाँचौं पटक कार्यतालिका परिमार्जन गर्दै भदौ १६–१९ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणमा विवाद सिर्जना भएपछि निर्वाचन कार्यतालिका छैटौं पटक परिमार्जन गरिएको थियो ।