२७ माघ, जनकपुर । केही समय अघिसम्म समसाँझै अध्याँरो र डरलाग्दो देखिने जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सडक यतिबेला भन्ने झिलीमिली देखिन थालिएकोे छ ।
जनकपुरधाम उपमहानगरपालिकाले उज्यालो नगर बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका खम्बाखम्बामा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि जनकपुरधाम नगरक्षेत्र झिलीमिली बनेको हो ।
“केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अध्याँरो हुने र हिँड्डुल गर्न नसक्ने स्थिति थियो”, जनकपुरधाम उपमहानगरपालिका–१ का रोशन महतोले भन्नुभयो, “तर अहिले रातिका समय जतिबेला पनि नगरक्षेत्रका सडक उज्यालो हुन्छ, जसका कारण हामी सुरक्षित महसुस गरिरहेका छौँ ।” उपमहानगरपालिकाले खम्बाखम्बामा जडान गरेको बत्तीले आफूहरुको बस्ती नै उज्यालो बनेको उहाँको भनाइ थियो ।
“पहिलापहिला सडक छेउका अधिकांश खम्बामा बत्ती थिएन्”, जनकपुरधाम उपमहानगरपालिका–४ का सहदेव साहले भन्नुभयो, “जडान भएका बत्ती पनि कतिपय बल्ने स्थितिमा थिएन, जसले गर्दा यस क्षेत्रका सडकमा साँझ पनि हिँडडुल गर्न समस्या भइरहेको थियो ।
” अब अहिले निर्धक्क भएर २४सैँ घण्टा सडकमा हिँड्दा पनि कुनै समस्या छैन, उहाँको भनाइ छ । “विगतका वर्षमा साँझ र रातिका समयमा सडक अध्याँरो हँुदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको थियो”, उहाँले भन्नुभयो, “अहिले नगरक्षेत्रमा त्यस्ता आपराधिक घटनामा समेत ह्वातै कमी आएको छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौं ।” यसबाहेक खम्बाको बत्तीले नगरक्षेत्र नै झिलीमिली बनेको उहाँको भनाइ थियो ।
उपमहानगरपालिकाले एकपछि अर्काे लोकप्रिय योजना ल्याएर कार्यान्वयन गर्ने गरेकाले छोटो समयमै जनकपुरधाम उपमहानगरपालिकाले मुहार फेर्न लागेको स्थानीयवासी बताउँछन् ।
उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७÷०७८ देखि उज्यालो जनकपुरधाम अभियानअन्तर्गत सडक तथा गल्लीका खम्बामा बत्ती जडानलाई तीव्रता दिएको उपमहानगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
त्यही योजनाअनुसार नगरक्षेत्रका सडक र गल्लीमा ६७३ सेन्सर लाइट जडान गर्ने लक्ष्य रहेकोमा हालसम्म करिब ६० प्रतिशत लाइट जडान गरिसकेको र बाँकीमा जडान कार्य भइरहेको वरिष्ठ इञ्जिनीयर यादवले बताउनुभयो ।
“नगरक्षेत्रमा अघिल्लो आर्थिक वर्षबाट उज्यालो जनकपुर अभियान सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसै अभियानअन्तर्गत हामीले अहिलेसम्म रेल्वे स्टेशनदेखि विमानस्थलसम्म, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म र परिक्रममा सडकमा ठूलाठूला सेन्सर लाइट जडान गरेका छौँ ।
” बाँकी सडकमा पनि बत्ती जडानको काम जारी छ, छिट्टै जडान सकिनेछ, उहाँको भनाइ छ । विगतमा फोहर र कुरुप सहरको पहिचान बनाएको जनकपुरधाम नगरक्षेत्रमा पछिल्लो समय भएको लोभलाग्दो विकासले यहाँका जनप्रतिनिधि मात्र होइन, स्थानीयवासीसमेत उत्साहित बनेका छन् ।