२७ माघ, बैतडी । पाँचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिका र नगर क्रिकेट समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता अगामी फागुन २२ गतेदेखि सञ्चालन हुने छ ।

प्रतियोगितामा नगरपालिकाभित्रका ११ वडाको सहभागिता रहने समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो । आइसिसीको नियमानुसार सञ्चालन हुने प्रतियोगितामा सहभागिता हुन चाहने टोलीले फागुन १८ सम्म दर्ता गराइसक्नुपर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगर प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

यसैबीच उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने अगामी चैत २ गतेदेखि सञ्चालन हुने समितिले जनाएको छ । यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई चार रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो ।

यस्तै चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई ९ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो ।्

मतदाता नामावली सङ्कलन स्थगित

जिल्ला निर्वाचन कार्यालय बैतडीले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलनस्थगन गरेको छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै यहाँ पनि नामावली सङ्कलन बन्द गरिएको हो ।

निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयालले जानकारी दिनुभयो ।

मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ बमोजिम स्थगन गरिएको हो । मतदाता नामावली सङ्कलनको पछिल्लो तथ्याङ्कको अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको छ ।

उहाँले भन्नुभयो, “सङ्कलित नामावली रुजु गर्ने काम भइरहेको छ, माघ २९ सम्म रुजु कार्य आयोगमा पठाउँछौँ, त्यसपछि मतदाता यकिन सङ्ख्या आउँछ ।”

निर्वाचनको मिति घोषणा हुनुपूर्व जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नियमितरूपमा भइरहेको थियो । हालसम्म जिल्लाका एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै यहाँ पनि निर्वाचन कार्यालयले आन्तरिक तयारी थालेको जनाएको छ । आयोगले कार्यातालिका सार्वजनिक गरेपछि त्यसैअनुसार जिल्लामा पनि थप काम थालिने कार्यालयले जनाएको छ ।