२७ माघ, खलङ्गा । जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताउनुभयो ।

हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई उद्धारका लागि पहल गर्न आग्रह गरेको थियो ।

प्रदेश सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यन्न छाडेर फर्किएको थियो । पाटन क्षेत्रमा जडीबुटी सेतोचिनी सङ्कलनका लागि गएका स्थानीयवासी हिउँ परेपछि पाटनमै थुनिएका थिए ।

हिउँमा फसेकालाई उद्धारका लागि चौतर्फी पहल भएको थियो । स्थानीय प्रशासनको पहल, तातोपानी गाउँपालिका, कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा हिउँमा फसेका नागरिकको उद्धार भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

पाटन क्षेत्रमा झण्डै चार फिट हिउँ जमेको थियो ।

बुधबार सबै भेँडाबाख्रासहित सकुशल घर फर्किएपछि स्थानीयवासीदेखि आफन्तजनमा खुसी छाएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले प्रेस विज्ञप्ति प्रकाशित गर्दै हिउँमा फसेका ३४ नागरिकसहित पाटन क्षेत्रमा रहेका सयौँ भेडाको उद्धार भएको जानकारी दिनुभएको छ ।

हिउँमा ३६ जना फसेका थिए, जसमध्ये दुई जना २२ गते नै घर फर्किसकेका थिए । सेतोचिनी सङ्कलनका क्रममा बाक्लो हिउँ जमेर स्थानीयवासी फसेका थिए ।

तातोपानी गाउँपालिका–८ को गाग्रो पाटनको एडि, खोटीसल्ला र गाग्रोओढारमा बसेका नागरिकको उद्धार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो ।

पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको थियो ।

गाग्रा पाटनमा सेतो चिनी, खिरौलो जडीबुटी सङ्कलन गर्न गएका तातोपानी गाउँपालिका– ८ की ३७ वर्षीय देवी शाही र तातोपानी–७ बारगाउँका ४६ वर्षीय मुन रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।