१ फागुन, चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले ज्येष्ठ नागरिकहरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

पश्चिम चितवनको शारदानगर जेसिजको सक्रियतामा भरतपुर महानगरपालिका–१९ शारदानगरमा निर्माण गर्न लागिएको वृद्धाश्रमको आज शिलान्यास गर्नुहुँदै उहाँले यस महत्वपूर्ण कामलाई आफ्नोतर्फबाट आवश्यक पहल गरी सहयोग गर्ने बताउनुभयो ।

वृद्धाश्रम निर्माण जस्तो पवित्र काममा लागेर मानवीय सेवामा समर्पित हुनु सराहनीय विषय भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जेसिजको यस कामका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोग जुटाउन मेरो सहयोग रहन्छ ।” समयमा काम सम्पन्न गर्न उहाँको सुझाव थियो । यस्तै खालको वृद्धाश्रम नुवाकोटमा बनेको प्रसङ्ग जोड्दै उहाँले सामाजिक काममा सबैको हातेमालो हुनुपर्ने बताउनुभयो ।

शारदानगरको बखानचोकमा एक कट्ठा जमिनमा वृद्धाश्रम बन्नेछ भने सँगै जोडिएको पार्क वृद्धाश्रमले प्रयोग गर्नेछ । करिब रु १० करोडको लागतमा वृद्धाश्रम बनाउन लागिएको हो । शारदानगर जेसिजको सक्रियतामा विभिन्न सहयोगदाताको सहयोग जुटाइँदैछ । जेसिजका पूर्वअध्यक्ष सोमप्रसाद भण्डारीका अनुसार वृद्धाश्रम बनाउनका लागि बागमती प्रदेश सरकारबाट रु ३० लाख विनियोजन गरिएको र बाँकी सहयोगको निम्ति केन्द्र सरकारलाइ अनुरोध गरिएको छ । 

सो अवसरमा भरतपुर महानगरपालिका–१९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ, नेपाली कांग्रेसका चितवनका पूर्वसभापति तोपमान सिंह गुरुङ, महिला नेत्री तारा गुरुङ, शारदानगर जेसिजका वर्ष २०२२ की अध्यक्ष मसिना गुरुङ, समाजसेवी विष्णु ढकाल लगायतको उपस्थिति रहेको थियो ।