२ फागुन, पर्सा । मोफसलको प्रतिष्ठित गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कारबाट सप्तरीका पत्रकार वैजनाथ झा सम्मानित हुनुभएको छ ।

गोपालचन्द्र गौतम प्रतिष्ठानले आज वीरगञ्जमा आयोजना गरेको ११औँ पुरस्कार वितरण समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले पत्रकार झालाई एक तोला सुनको पदक र प्रमाणपत्रले सम्मानित गर्नुभएको हो ।

तीन दशकभन्दा बढी समयदेखि सप्तरीमा रही जनसरोकारका विषयमा कलम चलाउँदै आएका पत्रकार झालाई सम्मानित गर्दै नगर प्रमुख सरावगीले जनताका पक्षमा कलम चलाउने पत्रकारको सम्मान जस्ता कार्यले लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । 

उहाँले पत्रकारिता क्षेत्रको विकासले लोकतन्त्रलाई बलियो बनाउनुका साथै राज्यलाई उत्तरदायी बनाउने भएकाले वीरगञ्जबाट प्रकाशित प्रसारित सञ्चारमाध्यमको दिगो विकासका लागि महानगरपालिकाले लोककल्याणकारी विज्ञापन वितरण सुरु गरेको जानकारी दिनुभयो ।

सभालाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले जनताका पक्षमा कलम चलाउने र समाजमा व्यापक भेदभाव, भ्रष्टाचारलाई समाप्त पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीको मनोबल उच्च बनाउन महानगरपालिकाले रु पाँच लाख प्रतिष्ठानलाई प्रदान गर्ने घोषणा गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष जगदिश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले पुरस्कृत भएका पत्रकार झालाई शुभकामना व्यक्त गर्नुभयो । 
उहाँले चालू आर्थिक वर्षदेखि नै लागू हुनेगरी मधेस प्रदेशमा रहेका पत्रकारको जीवन बिमा गर्नुका साथै वरिष्ठ पत्रकारलाई पेन्सन दिने तयारीमा लागेको जानकारी दिनुभयो ।