४ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न समयमा दिवङ्गत हुनुभएका तीन पूर्वसांसद तथा तत्कालीन संविधानसभाका सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छुट्टाछुट्टै पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकले नेपाली कांग्रेसकोतर्फबाट २०६४ सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । ताजपुरियाको ७८ वर्षको उमेरमा गत पुस १७ गते शनिबार निधन भएको थियो ।

त्यसैगरी बैठकले राष्ट्रियसभामा २०५८ सालमा तत्कालीन नेकपा (एमाले) का तर्फबाट निर्वाचित सदस्य नेता लक्ष्मीदास मानन्धरको निधनप्रति पनि शोक प्रस्ताव पारित गरेको छ । मानन्धरको ९३ वर्षको उमेरमा गत माघ ६ गते निधन भएको थियो । यस्तै बैठकले २०७० सालको संविधानसभामा तत्कालीन एमालेकातर्फबाट निर्वाचित सदस्य डा दुमनसिंह थापाको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

थापाको ६३ वर्षको उमेरमा गत माघ १६ गते निधन भएको थियो । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे बस्नेछ ।