९ फागुन, काठमाडौँ । कोरोना महामारीका क्रममा पिसिआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यादवले अस्पतालको छाप आफूखुसी बनाई दुरुपयोग गरेको र कार्यालयको कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा फेला पारिएका पिसिआर रिपोर्ट सबै नक्कली भएको पाइएको छ ।
यस्तै, अस्पतालमा स्वाब सङ्कलन गरी अनाधिकृत रूपमा रकम उठाएको, परीक्षण नै नगरी गलत रिपोर्ट बनाएको, मौखिक आधारमा नेगेटिभ रिपोर्ट आएको बताउनेजस्ता अनाधिकृत काम गरेको पाइएको आयोगले जनाएको छ ।
कार्यकक्षमा नै स्वाब सङ्कलन गरी नेगेटिभ रिपोर्ट आएकालाई समेत पैसा लिएर पोजेटिभ बनाएको जस्ता तथ्यका आधारमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।