१५ फागुन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले अङ्गदानको घोषणा गर्नुभएको छ । स्वास्थ्य सेवा दिवस–२०७८ को अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँहरुले मरणोपरान्त आफ्ना अङ्गदान गर्ने घोषणा गर्नुभएको हो ।
सो अवसरमा मन्त्री खतिवडाले आगामी चैतभित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप पूरा गर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गरेर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कोभिडको समयमा क्रियाशील रहेका सबै स्वास्थ्यकर्मीको सराहना गर्नुभयो ।
स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ्को उपस्थितिमा भएको कार्यक्रममा मुख्यसचिव बैरागीले दिवसको सफलताको शुभकामना दिँदै गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकमा पु¥याउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । स्वास्थ्य सचिव देवकुमारी गुरागाईंले कोभिड खोप अभियानमा उल्लेख्य प्रगति भएको बताउनुभयो ।

त्यस अवसरमा रु एक लाख राशिको उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कार डा जीतेन्द्र कँडेललाई र रु ५० हजार राशिको स्वास्थ्य सेवा पुरस्कार धनकला थापा, ओमराज आचार्य, रामप्रवेश साह र योगेन्द्र कट्टेललाई प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा स्वास्थ्यकर्मी सम्मान १० जनालाई प्रदान गरिएको थियो ।