१६ फागुन, सुदूरपश्चिम । नेपाली कांग्रेस कैलालीको १४औँ अधिवेशन अन्तर्गत जिल्ला नेतृत्वका लागि आइतबार भएको निर्वाचनको मतगणना आज यहाँ सुरु हुँदैछ । अधिवेशनमा सभापतिका लागि पूर्व उपसभापति नारायण भट्ट, निवर्तमान उपसभापति प्रकाश बम र रामबहादुर कलेलले आ–आफ्नो छुट्टाछुट्टै समूहसहित उम्मेदारी दिनुभएको छ ।

यसअघि सभापति पदको आकांक्षी देखिनु भएका युवा नेता भीम बडूवाल र खेमराज चौधरीले उपसभापतिमा उम्मेदवारी दिनुभएको छ ।

सभापतिपछि अर्को महत्वपूर्ण मानिने सचिव पदमा युवा नेता नृपबहादुर सुनार, अमृत बिसी, केशव मिश्रले उम्मेदवारी दिनुभएको छ । जिल्ला कार्यसमितिको सदस्य पदमा उम्मेदावरी दिनुभएका १२ जना निर्विरोध निर्वाचित हुनुभएको छ ।

सो पार्टीका निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा यही १८गते दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताउनु भयो । मतदाता मतदान गरेर फर्किइसकेकाले पहिलो चरणमा सभापतिको नतिजा आउन नसकेमा आज नेपाल बन्द र भोलि शिवरात्रि पर्व परेको कारण १८ गते दोस्रो चरणको निर्वाचनमा जाने गरी छलफल भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसको जिल्ला अधिवेशन कैलाली र अछाम बाहेक बाँकी सबै जिल्लामा यस अघि नै सम्पन्न भइसकेको छ ।