१८ फागुन, काठमाडौं । युक्रेनमा रहेका नेपालीहरूलाई नेपाली जनसम्पर्क समितिमार्फत् छिमेकी देश पोल्याण्ड लगिएको छ।

युक्रेनमाथि रूसले केही समयदेखि आक्रमण गरिरहेको छ।

युक्रेनमा रहेका नेपालीलाई पोल्याण्डमा रहेका नेपालीहरूले मंगलबार राजधानी वार्सातर्फ लगेका छन्।

नेपाली जनसम्पर्क समिति पोल्याण्डका सभापति भीम परियारसहितले युक्रेनबाट पोल्याण्डको सीमा आइपुगेका नेपालीलाई राजधानी वार्सा लगेका छन्।

पोल्याण्डको एनआरएनएलगायत नेपाली समुदाय पनि मानवीय सेवामा जुटेका छन्। साथै नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट नेजसस पोल्याण्डसँग आफूहरू सम्पर्कमा रहेर काम गरिरहेको महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्।

‘पोल्याण्डको सीमा पुगेका नेपालीलाई अत्यावश्यक सेवा समन्वय गर्न सम्पर्क समितिले नेपाली हेल्प डेस्क स्थापना गरेर काम गरिरहेको छ,’ महामन्त्री शर्माले भने, ‘हेल्प डेस्कको फोन नम्बरमा सम्पर्क गरेर पोल्याण्ड सीमा पुग्दै गरेका जो कोही नेपालीले आवश्यक मानवीय साथ लिन सक्नु हुनेछ।’

साथै बर्लिन दूतावासबाट सरकारले र पोल्याण्डस्थित नेपाली समुदायले युक्रेनबाट नेपालीलाई संयम र सतर्कतापूर्वक अहिलेको अवस्था सामना गर्न निरन्तर रूपमा बलियो साथ दिनुपर्ने शर्मा बताउँछन्।

रूसले युक्रेनमाथि आक्रम गरेलगत्तै नेपाल सरकार र नेपाली कांग्रेसले विरोध प्रकट गरिसकेको पनि महामन्त्री शर्माले बताए।

‘रुसले युक्रेनमाथि गरेको आक्रमणलगत्तै नेपाल सरकार र नेपाली कांग्रेस पार्टीले विरोध प्रकट गरिसकेको छ,’ उनले भने, ‘बर्बर आक्रमण अविलम्ब रोकेर युक्रेनको स्वाधीनता रक्षाका लागि विश्वव्यापी दबाब बढाउन जरुरी छ। यो आक्रमण युक्रेनको स्वाधीनतामाथि मात्रै होइन समग्रमा मानवतामाथिकै आक्रमण हो।’