२० फागुन, विराटनगर । विराटनगरस्थित एतिहासिक, धार्मिक र साँस्कृतिक महत्वका मण्ठापोखरी र बाबा वाणेश्वरनाथ मन्दिरको संरक्षण र सम्वद्र्धन नहुँदा ओझेलमा पर्दै गएको छ ।

विराटनगर महानगरपालिका–१४ रानीस्थित मण्ठापोखरी र वाणेश्वरनाथ महादेव मन्दिर संरक्षण अभावमा ओझेलमा पर्दै आएको हो । साढे नौ कट्ठा जलक्षेत्र रहेको पोखरीकै उत्तरतर्फको डिलमा बाबा वाणेश्वरनाथ महादेव मन्दिर अवस्थित छ । एक सय १० वर्षअघि निर्माण भएको उक्त मन्दिर संरक्षण नहुँदा जीर्ण देखिएको छ । आधुनिक विराटनगरको इतिहासभन्दा पनि पुरानो रहेको यो मन्दिर विसं १९६८ मङ्सिर ९ गते निर्माण भएको मन्दिरको शिलालेखमा उल्लेख छ ।

तत्कालीन महन्थ डिगेश्वर भयरोगिर तथा उनका चेला घेला गङ्गागिरले मन्दिर निर्माण गराएको शिलालेखमा अङ्कित छ । मण्ठापोखरी र मन्दिर रहेको यो स्थानमा हाल एक बिघा १५ कट्ठा जग्गा छ । मण्ठापोखरीको लागि यसका संस्थापकले झण्डै सात बिघा जग्गा राखेको भए पनि हाल ती जग्गामध्ये अधिकांश जग्गा मन्दिरको नियन्त्रण बाहिर छ भने छेउछाउका जग्गा अतिक्रमणमा परेको सम्बन्धित समितिका सदस्य अनन्तलाल यादवले बताउनुभयो । मन्दिर सञ्चालन तथा संरक्षणका निम्ति आयआर्जनको जोहो गर्न मन्दिरभन्दा दक्षिणतर्फ रहेको साढे पाँच बिघा जग्गा यतिखेर विराटनगर–१७ का केही मानिसले जोतभोग गरिरहेको स्थानीयवासीको गुनासो छ ।

सो जग्गा उपभोगबापत आउनुपर्ने आम्दानी मन्दिरले हासिल गर्न नसकेको समितिले जनाएको छ । चतरा गुठीको नाममा रहेको सो जग्गा अहिले उपभोग गरिरहेका मानिसले पाँच दशकअघि नै ठेक्कामा लिए पनि त्यसबापतको दस्तुर नबुझाएको समितिका सदस्य रामजी मण्डलले बताउनुभयो । मन्दिरको आयआर्जनका निम्ति राखिएको जग्गा हाल व्यक्तिले निजी उपभोग गरिरहेका छन् । मन्दिरको जग्गा उपयोग गरेबापत उनीहरुले दस्तुरसमेत नबुझाइरहेकाले त्यसलाई मन्दिरको नियन्त्रणमा ल्याउन आफूहरुले पहल थालेको बाबा वाणेश्वरनाथ शिव मन्दिर, मण्ठापोखरी समितिका अध्यक्ष गङ्गाप्रसाद यादवले बताउनुभयो । यो पोखरी प्राचीन विराट राजा दरबारको पेरिफेरीमा रहेको छ ।

पोखरी रहेको स्थानभन्दा एक किमी र दक्षिण भेडियारीमा राजा विराटको प्राचीन दरबारसमेत छ । दरबार क्षेत्रमा केही समय अघि गरिएको आंशिक उत्खननमा त्यस ठाउँमा साढे दुई हजार वर्ष पुरानो संरचना फेलापरेको छ । भेडियारीको सो क्षेत्रमा महाभारतकालमा पाण्डवले गुप्तवास बसेको र राजा विराटका रानीहरु नुहाउन यस मण्ठापोखरीमा आउने गरेको किम्वन्दती रहेको स्थानीयवासीको भनाइ छ ।

प्राचीन र धार्मिक महत्वको मण्ठापोखरीको यो क्षेत्रलाई व्यवस्थित गर्दै प्रवद्र्धन गर्नसके थप धार्मिक पर्यटक आर्कषित गर्न सकिन्छ । एतिहासिक, धार्मिक र साँस्कतिक महत्वका यी सम्पदाको संरक्षणमा सबै पक्ष एकजुट हुन आवश्यक छ”, समितिका अध्यक्ष यादवले भन्नुभयो, “महानगरपालिका र प्रदेश सरकारको पनि यसमा ध्यान जाओस् ।” मन्दिरको नाममा रहेको जग्गाको दस्तुर नआएपछि नियमित पूजाअर्चना व्यवस्थापनमा समस्या हुने गरेको बताइएको छ ।