काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ का घ्याब्रिङ र बालखोपका बासिन्दालाई धारा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट त्यहाँका ५३ घर परिवार र एक विद्यालयलाई ‘एक घर, एक धारा’ खानेपानी वितरण गरेपछि सो ठाउँका ३८० बासिन्दाले खानेपानी उपभोग गर्न पाएका हुन् ।

वडा नं ६ का वडाध्यक्ष रमेश लुङ्गेलीले खानेपानीको समस्या झेल्दै आएको सो ठाउँका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयवासीमा थप खुसीको लहर छाएको बताउनुभयो । विगतमा सामूहिक धारा हँुदा एकैपटक धेरै जना पानी थाप्नका लागि जम्मा हुँदा विवाद झेल्नुपर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा’ले त्यसको अन्त्य भएको उहाँले बताउनुभयो ।

करिब साढे तीन किलोमिटर टाढाको बालखोप मुहानबाट मूल पाइप बिछ्याएर तीन ठाउँमा पानी ट्याङ्की निर्माण गरी घर–घरमा खानेपानी पु¥याइएको गाउँपालिकाका सव–इन्जिनियर प्रकाश खड्काले बताउनुभयो । सो आयोजना सम्पन्न गर्नका लागि रु ४६ लाख ५० हजार ५०० को लागतमा मुख्य पाइपलाइन र वितरण पाइप लाइन गरी करिब ११ किलोमिटर पाइपलाइन बिछ्याएर खानेपानी धारा वितरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले मानिसको जीवनसँग सम्बन्धित रहेको खानेपानी आयोजना सम्पन्न गर्नको लागि प्राप्त बजेटले बालखोपका स्थानीयवासीलाई लाभान्वित बनाउन सफल भएको बताउनुभयो । 

बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माले दुर्गम गाउँपालिकाको विकट गाउँका बासिन्दालाई प्रदेश सरकारको साझेदारीमा खानेपानी उपलब्ध गराउन सफल भएको बताउनुभयो ।