८ बैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनी तीन दिने भारत भ्रमण सकाएर नेपाल आएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आएका संगठनका महानिर्देशक डा. ट्रेडोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार नेपालमा रहँदा उनलाई नेपालले कोभिड महामारी नियन्त्रणका लागि अप्‍नाएका उपायहरुका बारेमा जानकारी दिइने छ भने टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको पनि भ्रमण गर्ने छन् ।
उहाँले भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग भेटवार्ता गर्नुहुने छ, उनले भने,यस्तै कोभिड महामारीमा उल्लेखनीय काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गर्नुहुने छ । उनका अनुसार योबाहेक नेपालले कोभिड नियन्त्रणका लागि गरेका अन्य कामका साथै खोप कार्यक्रमबारे पनि उनलाई जानकारी दिइने छ ।

महानिर्देशक डा. ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा। पुनम क्षेत्रपाल सिंह पनि नेपाल भ्रमणामा आउने छिन् । उनीहरु भारतको भ्रमण गरेर नेपाल आउन लागेको पनि डा. पोखरेलले जानकारी दिए । डा. ट्रेडोसले आगामी मे महिनामा हुने विश्व स्वास्थ्य स‌ंगठनको ७५ औं महासभामा महानिर्देशक पदमा नियुक्तिका लागि फेरि पनि मनोनयन दिएका छन् । इथियोपियाका नागरिक टेड्रोस महानिर्देशक चयन हुनु अघि त्यहाँका परराष्ट्र मन्त्री थिए । उनलाई दोस्रो कार्यकालका लागि यूरोपियन राष्ट्रहरु र केही अफ्रिकी राष्ट्रले समर्थन गरेपनि आफ्नै देशले भने समर्थन गरेको छैन । महानिर्देशक पदका लागि टेड्रोस बाहेक अन्यले मनोनयन पनि दिएका छैनन् ।