८ बैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । गठबन्धनको तयारी एवम् अनुगमन समितिको आज शुक्रवार बसेको बैठकले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो । 

चुनावी सभालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्नेछन् । गठबन्धनका संयोजक एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ६ जना शीर्ष नेताले सम्बोधन गर्ने गरी चुनावी सभाको तालिका पनि सार्वजनिक गरिएको छ । 

तालिकाअनुसार वैशाख १८ गते धनगढी र सुर्खेत, वैशाख १९ गते बुटवल र पोखरा, वैशाख २० गते विराटनगर र जनकपुर, वैशाख २२ गते काठमाण्डाैमा संयुक्त चुनावी सभा हुनेछ । 

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि हिजो बुधवार सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा तालमेल गर्ने सहमति गरेको थियो ।