११ बैशाख, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज कैलाली जिल्लामा उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले मध्याह्नसम्म जिल्लाका १३ वटै पालिकामा उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भइरहेको जानकारी दिनुभयो ।
विभिन्न दलका उम्मेदवार बाजागाजा, नाचगानसहित जुलुस प्रदर्शन गर्दै उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा पुगेका थिए । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी)सहितका दलले भने सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने जनाएका छन् ।

दलहरुले सबै तहमा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा उम्मेदवारीको मनोनयन दर्तामा ढिलाइ भएको जनाइएको छ । धनगढी उपमहानगरको प्रमुखमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारीमा रहनुभएका नेता रणबहादुर चन्दले आफूहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने बताउनुभयो ।
उपमहानगरपालिकाका सबै पदमा कसलाई उम्मेदवार बनाउने भन्नेमा पार्टीले लगभग टुङ्गो लगाइसकेको चन्दले बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सचिव नृप सुनारले गठबन्धन दलबीच सबै तहमा साझा उम्मेदवार बनाउनेबारे भइरहेको छलफलमा सहमति जुटाउन समय लागेकाले उम्मेदवारी दर्तामा ढिलाइ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘छलफल जारी भए पनि पालिकाको पदमा सहमति जुटाउन समस्या भइरहेको छ, साँझसम्म सहमति जुटाउने प्रयास भइरहेको छ ।’’