१९ बैशाख, काठमाडौं । कोभिड–१९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि सौराहाका व्यवसायीले विकल्पको बाटो खोजे । कोभिड–१९ को समयमा मजदूर र कर्मचारी समेतलाई बिदा दिएर फुर्सदिला बनेका होटलका साहुहरुले सदावहार चलायमान हुने व्यवसायको खोजी गरे । यही क्रममा व्यवसायी सौराहा नजिकैको बकुलहरमा सेभ सुपरमार्केट सञ्चालन गर्ने निचोडमा पुगे ।

सुरुमा तीन जनाबाट थालिएको छलफल र काम अघि बढ्दै जाँदा यो समूहमा १८ जना लगानीकर्ता आवद्ध हुन पुगेका छन् । सोह्र जना सौराहाका होटल व्यवसायी रहेको सञ्चालकमध्येका एक सुमन घिमिरेले बताउनुभयो । बकुलहरमा बन्द अवस्थामा रहेको ज्योति हल भएको जग्गा भाडामा लिएर यो समूहले सुपरमार्केट सुरु गरेको हो । उहाँका अनुसार रु १६ करोड लगानीमा सुपरमार्केट सञ्चालनमा आएको हो ।

पूर्वी चितवनकै सुविधासम्पन्न सुपरमार्केटमा एकै ठाउँमा आवश्यक सम्पूर्ण घरायसी सामान पाइने गरी व्यवस्थापन गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सुपरमार्केट सञ्चालन गर्ने सौराहा भेन्चरस् प्रालिका अध्यक्ष नारायण भट्टराईका अनुसार सुपरमार्केटभित्र सिनेमा हल, सपिङ सेन्टरलगायतको व्यवस्था छ । सुरुमा सपिङ सेन्टर मात्र सञ्चालन हुनेछ भने त्यसपछि दुई सिनेमा हल सञ्चालन हुनेछन् ।

नवनिर्मित सुपरमार्केट तीन तलाको रहेको छ । पहिलो तलामा ग्रोसरी, दोस्रो तलामा किचेनवेयर तथा इलेक्ट्रिकल पसल र तेस्रो तलामा स्केट पार्क रहने छ । सौराहामा रहेका होटल तथा रेष्टुराँलाई अब सामान खरिदकै लागि भरतपुरसम्म पुग्नुपर्ने बाध्यता हटेको भट्टराईले बताउनुभयो ।

सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार समूहले सेभ सुपरमार्केटलाई विस्तारै आउटलेटका रुपमा चितवनभरि फैलाउने योजना छ । वैकल्पिक व्यवसायलाई पनि साथमै लैजाने योजनाका साथ उनीहरुले बकुलहरलाई मुख्य कार्यालय मानेर चितवनका विभिन्न क्षेत्रमा सुपरमार्केट सञ्चालन गर्ने तयारी गरिरहेका छन् । सौराहाका होटल सञ्चालक समय समयमा हुने व्यावसायिक उतारचढावका कारण समस्यामा पर्दै आएका छन् । भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतले पर्यटन व्यवसाय प्रभावित हुने गरेको छ ।