२० बैशाख, काठमाडौं । युक्रेनका एक अधिकारीले मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारण उद्धारकार्य बाँकी रहेको बताउनु भएको छ । यसैबीच रुसले पुनः हमलाहरु थालेको पनि उहाँ थप जानकारी दिनुभएको छ ।

राष्ट्रिय गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताउनु भएको छ । आइतवार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका बताइएको छ । तर पनि स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरु रहेका कमाण्डर श्लेगाले बताउनु भएको छ ।

सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किएलगत्तै उक्त उद्योगमा रुसले पुनः बमबारी थालेको युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले बताउनु भएको हो । युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो । सोमवार साँझ बाहिरिएका भिडिओमा एजोभस्टालमा ठूलो आगो लागेको देखिएको थियो । यस आगलागिलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन् ।