काठमाडौं ।  होटल संघ नेपालले होटल व्यवसायीका समस्या सामाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ । 

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै हानले बिग्रँदो अर्थतन्त्रसँगै मुलुकको होटल क्षेत्र धरासायी बनेको भन्दै व्यवसायीहरुको समस्या समाधानको लागि सरकारले पहल नगरेर होटल बन्द गर्ने चेतावनी दिएको हो । हानले सरकारलाई होटल व्यवसायीहरुका समस्या समाधानको लागि ध्यानाकर्षण गराउँदा समेत समस्याको सामाधानको लागि पहल नगरे व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ ।

हानका प्रथम उपाध्यक्ष विनायक साहले बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने अवस्था आएको बताउनु भयो । उहाँले सरकारका नीति निर्माताहरु,संवद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक,बैंक तथा वित्तीय संस्थाहरुमा बढ्दै गएको समस्या समाधानका लागि गरिएको पटक पटकको बैठक,ज्ञापनपत्र, सुनुवाई लगायतका प्रयासहरुबाट हालसम्म कुनै वाञ्छित नतिजा नआएको बताउनु भयो । उहाँले पछिल्लो समय चालु खर्च समेत धान्न नसक्ने गरी होटलहरु घाटामा सञ्चालित रहेको बताउनु भयो । उहाँले राष्ट्रिय वार्षिक बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको नेपाली होटल क्षेत्रलाई नेपाल सरकारले हालसम्म पनि उद्योग सरहको मान्यता समेत नदिनु खेदजनक रहेको बताउनु भयो । उहाँले होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्युबाट बचाई पुनर्जीवन प्रदान गर्न ऋणको साँवा व्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउने लगायत कर्जा पुनर्संरचना,पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको तथा बढ्दै गएको व्याजदर एकल अंकमा झार्न माग गर्नुभयो । उहाँले पछिल्लो समय होटलको अकुपेन्सी २५ प्रतिशत मात्रै रहेको बताउनु भयो । 

त्यस्तै संघका अध्यक्ष सिर्जना राणाले सरकारले बनाउने नीति नियमले होटल क्षेत्रलाई उपेक्षा गरेको बताउनु भयो । उहाँले सरकारले कोरोना महामारीको कारण थला परेको होटल क्षेत्रमैत्री नीति नबनाउँदा होटल व्यवसाय घाटामा सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले नेपालको पर्यटन क्षेत्र ५० प्रतिशत मात्रै लयमा आएकाले पर्यटक क्षेत्रको विकासमा चुनौती रहेको बताउनु भयो । अध्यक्ष राणाले सरकारले होटल व्यवसाय सबै फस्टाएर पर्यटन व्यवसाय सामान्य अवस्था आयो भनेपनि सामान्य अवस्थामा नआएको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रलाई सरकारले उद्योगको मान्यता नदिएको भन्दै होटल क्षेत्रलाई उद्योगको मान्यता दिन माग गर्नुभयो । 

उहाँले होटलहरुको संरक्षणको लागि बढी भन्दा बढी विदेशी पर्यटक ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारको आगामी नीति होटल व्यवसाय गर्ने वातारण हुने खालको हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।