काठमाडौं । कक्षा १२ को वाषिर्क परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ ।
कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उहाँले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिनुभयो ।
तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।
बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।







