काठमाडौं । विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । 

पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो ।

काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ ।

तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिनुभयो ।

उहाँले भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताउनुभयो । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको बताउनु भयो । उहाँले यो पटक विगतको वर्षहरु भन्दा धेरै नै केसहरु देखिएको बताउनु भयो । 

आँखा रोग विशेषज्ञहरुले कुनैपनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याँई गर्न नहुने भन्दै आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकिच्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग गर्न नहुने सुझाव दिएका छन् । 

के गर्ने ?
आँखा चिसोले तथा बरफले सेक्ने
सफा पानीले आँखा सफा गर्ने
घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने
संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने 
के नगर्ने ? 
संक्रमित आँखालाई सकेसम्म नचलाउने
स्कुल,कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने
अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
आफूखुशी औषधिको प्रयोग नगर्ने