काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । 

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

संघका महासचिव डा.सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिनुभयो । एक समूहले डा. थापा र बिडारीमाथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनु भयो ।

गत भदौ २७ गते डा थापा र डा. बिडारीमाथि सन्चो अस्पताल हेटौँडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा आक्रमण भएको थियो । तिवारीले गम्भीर घाइते भएका चिकित्सकहरूको स्वास्थ्य अवस्थ अत्यन्तै नाजुक भएको बताउनु भयो । उहाँले चिकित्सकका परिवार एवं अन्य स्वास्थ्यकर्मीहरूलाई समेत बारम्बार धम्काइ असुरक्षित एवं आतंकित बनाइएको बताउनु भयो ।

उहाँले ज्यान मार्ने किसिमको घटनालाई अस्पतालको सिसिटिभीमा कैद भई सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदा समेत सुरक्षा निकायले गम्भीरतापूर्वक नलिएको बताउनु भयो । उहाँले ७२ घण्टाको अल्टिमेटम दिएर सो घटनाका दोषीहरूलाई कानूनी दायरामा ल्याई हदै सम्मको कारवाहीको माग गर्नुभयो ।

डा.तिवारीले देशमा कानूनी राज्यको प्रत्याभुति चिकित्सक, स्वास्थ्यकर्मीहरूले कहिले पनि गर्न नसकेको बताउनु भयो । उहाँले नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरूलाई ज्यान मार्ने मनसायले अस्वभाविक, अकल्पनीय र अमानवीय घटना भएको बताउनु भयो । उहाँले संलग्न दोषीलाई यथाशिघ्र कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नका लागि प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण गराइएको बताउनु भयो ।

उहाँले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि संशोधन ऐन, २०७९ बमोजिम चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई कानूनी कारवाही गर्न माग गर्नुभयो ।