काठमाडौं । पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ ।

जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन् । तर आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग सर्छ की सर्दैन भन्ने प्रश्न छ । पछिल्लो समय देशभर पशुहरु लम्पी स्किनबाट संक्रमित भएसँगै आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुले दिने दुध पिउँदा रोग सर्नसक्ने त्रास पाइन्छ ।

तर लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग नसर्ने पशु चिकित्सकहरु बताउँछन् । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले लम्पी स्किन रोग लागेको पशुको दुध उमालेर खान सकिने बताउनु भयो ।

उहाँले लम्पी स्किन रोग जुनोटीक रोग नभएको भन्दै यो रोग पशुबाट मानिसमा सर्ने रोग नभएको जानकारी दिनुभयो । उहाँले आज सम्मको अध्ययनले यो रोग मान्छेमा नसरेको बताउनु भयो ।

लम्पी स्किन रोग विशेष गरी गाई, भैँसी र चाँैरीमा देखिने गरेको छ । डा.ढकालले भेडा,बाख्रामा लम्पी स्किन रोग अहिलेसम्म नलागेको बताउनु भयो । यदी रोग लागेका पशुलाई एन्टीबायोटिक खुवाइएको छ भने औषधिको प्रयोग हुन्जेलसम्म त्यस्ता पशुले दिएको दुध नखानु नै राम्रो हुने चिकित्सकको सुझाव छ ।

यस वर्ष हालसम्म लम्पी स्कीन रोगका कारण मृत्यु भएका पशुको संख्या ४८ हजार १३३ रहेको पशु विभागको तथ्याङ्कमा उल्लेख छ । डा. ढकालले पछिल्लो समय देशका विशेषगरी पहाडी, मध्यपहाडी र उच्च पहाडी भूभागमा रोग व्यापक रुपमा फैलिएको जानकारी दिनुभयो । २ लाख ३७ हजार २८१ पशुमा सकृय संक्रमण देखिएको छ । कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै संक्रमण देखिएको छ ।