काठमाडौं । एशिया कपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । 

बुधवार राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अब हाइ टाइम भइसकेकाले सरकारले इन्फास्ट्रक्चरमा लगानी बढाउनुपर्ने बताउनु भयो ।

उहाँले एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन नसकिने बताउनु भयो । उहाँले भारत र पाकिस्तानसँग सपना पूरा भएको र खेलबाट खेलाडीले धेरैकुरा सिकेको बताउनु भयो । उहाँले सरकार र निजी निकायहरुले खेलाडीहरुमा लगानी बढाउनुपर्ने बताउनु भयो । 

सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओपनर ब्याट्सम्यान आसिफ शेखले राम्रो टिमसँग खेलेर राम्रो स्कोर बनाउँदा आत्मविश्वास बढेको बताउनु भयो । उहाँले ड्रेसिङ रुममा भारतीय खेलाडीले मेडल लगाइदिँदा गर्व महशुस भएको बताउनु भयो । उहाँले मेडल लगाइसकेपछि भारतीय क्रिकेटर विराट कोहलीले आफूले क्याच छोडिदिएकोमा एउटा मेडल आफूलाई पनि दिनुपर्छ भन्ने ठट्टा गरेको बताउनु भयो ।

विश्वका नम्बर वान ब्याट्सम्यान र टिमसँग खेलेपछि अब नेपाली खेलाडीहरु कुनैपनि बलियो टिमसँग निर्धक्क भएर खेल्न सक्ने भएको क्यानको बुझाई छ ।