जेठ २२, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गइ जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गर्नुभएको छ ।
विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवम् प्रभाव बढेको बताउनुभएको छ ।
यसले समग्र विश्व नै ठूलो वातावरणीय सङ्कटबाट गुज्रिरहेको बताउँदै प्रधानमन्त्री देउवाले यसको असरबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सीमान्तकृत समुदाय बढीमात्रामा प्रभावित भइरहेका उल्लेख गर्नुभएको छ ।
वातावरणीय समस्यासँग जुध्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झकझकाउने उहाँले अपेक्षा लिनुभएको छ । तीन तहमा थप नीतिगत समन्वय, रणनीतिक मार्गदर्शन तथा कार्यक्रममा तादात्म्य कायम गरेर अघि बढ्न आवश्यक रहेको उहाँले जनाउनुभएको छ ।
प्रधानमन्त्री देउवाले हालै संयुक्त अधिराज्य बेलायतको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्न सम्बन्धित सबै निकायको सक्रियता र समन्वय आवश्यक रहेकोसमेत उल्लेख गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।
नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । प्रधानमन्त्री देउवाले यस अवसरमा वातावरण संरक्षणको कार्यमा संलग्न सबै व्यक्ति, संस्था एवम् विकास साझेदारमा शुभकामना व्यक्त गर्दै यस अभियानमा आआफ्नो ठाउँबाट योगदान पुर्याउन सबैलाई आह्वानसमेत गर्नुभएको छ ।
वातावरण संरक्षणसम्बन्धी स्टकहोम सम्मेलन, १९७२ ले तय गरेको नारा ‘केवल एक पृथ्वी’लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले ब्रह्माण्डमै जीवन जीउनयोग्य एकमात्र ग्रह पृथ्वीको वैशिष्टय र यसको संरक्षणमा प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
यस वर्षका लागि तय गरिएको विश्व वातावरण दिवसको नाराको मर्मअनुरूप वातावरणमैत्री व्यवहार र आचरणको अवलम्बन गर्दै सबैको अस्तित्वको एकमात्र आधार पृथ्वीको संरक्षण गर्न यस दिवसले प्रेरणा मिलोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।








