१३ फागुन, कावासोती । नागरिकता बनाउन घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने बाध्यता रहेको भन्दै जिल्लाको पहाडी क्षेत्रमा इलाका प्रशासन कार्यालयको माग गरिएको छ ।

पहाडी क्षेत्रका बासिन्दाले जिल्ला सदरमुकाम कावासोती पुगी नागरिकता बनाउन यातायातको असहजताका कारण सास्ती हुने गरेको भन्दै इलाकाको माग गरेका हुन् । नवलपुरको पहाडी क्षेत्रको बौदिकाली, बुलिङटार र हुप्सेकोटका केही भागका स्थानीयवासीलाई सडक जीर्ण भएकाले सदरमुकाम कावासोतीसम्म आउन निकै सास्ती रहेको छ । तसर्थ यस क्षेत्रका बासिन्दाले पहाडी क्षेत्रमा सबैलाई पायक पर्ने क्षेत्रमा मालपोत र जिल्ला प्रशासन कार्यालयबाट दिने सेवाको इलाका माग गरेका हुन् ।

बर्खायाममा करिब पाँच महिना जिल्लाको पहाडी क्षेत्रका बाटो भत्किँदा र पहिरो जाँदा यातायात पूर्णरूपमा अवरुद्धजस्तै हुने गर्दछ । यसले समेत सदरमुकाममा आएर सेवा लिन असम्भवजस्तै हुने गर्दछ । “यहाँका नागरिकले प्रशासनको सेवा लिन निकै कठिन छ, सदरमुकाम पुगेर नागरिकता बनाएर एकै दिनमा फर्किन मुस्किल छ”, डेढगाउँका एमाले नेता श्याम श्रेष्ठले भन्नुभयो, “राज्यले सहज नागरिकता दिने वातावरण बनाउनुप¥यो ।”

केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल डेढगाउँ पुग्दा पहाडका विकासका एजेण्डासहित ध्यानाकर्षणपत्रसमेत बुझाइएको थियो । बौदिकालीका सबै राजनीतिक दलले गाउँपालिकाको विकासका लागि गर्नुपर्ने योजनासहित इलाकाको समेत माग गरिएको नेपाली कांग्रेस बौदिकाली गाउँपालिका सभापति केवि रानाले बताउनुभयो । उहाँलगायतको टोलीले मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

मुख्यमन्त्री डेढगाउँ पुगेकै दिन गण्डकी प्रदेशका विद्यायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले पहाडमा इलाकाको माग पहिलेदेखि भएको भन्दै अब यसको स्थापनाका लागि मुख्यमन्त्रीले पहल गर्नुपर्ने आवाजसमेत उठाउनुभयो ।

सदरमुकामबाट करिब ५० किलोमिटरमा रहेका बौदिकाली र बुलिङटार विकट क्षेत्रका रुपमा रहेका छन् । भौगोलिक कठिनाइका कारण जिल्लास्थित कार्यालयबाट सहज सेवा लिन यहाँका बासिन्दाले सकिरहेका छैनन् । पहाडी क्षेत्रलाई राज्यले विषेशरूपमा हेर्नुपर्ने बौदीकाली गाउँपालिका अध्यक्ष दुर्गाबहादुर रानाले बताउनुभयो ।