२२ फागुन, लमजुङ । यहाँ करापुटार–डढुवा–साल्मे भञ्ज्याङ सडकखण्डअन्तर्गत करापुटार डढुवा सडकखण्डमा आरसिसी ढलानको काम अघि बढाइएको छ । मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिका जोड्ने यस सडकखण्डअन्तर्गत मध्यनेपाल–७ करापुटारदेखि वडा नं ८ डढुवासम्मको नौ किमी ढलान कार्य अघि बढेको हो ।
सडक ढलान गर्नका लागि गण्डकी प्रदेश सरकारको रु ३१ करोड २३ लाख ३० हजार २६९ लागतमा निर्माण कार्य अघि बढेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हाल सडकको पर्खाल लगाउने, नाली बनाउने, कटिङ गर्नेलगायतका कार्य भइरहेको छ । नौ किमी ढलान हुने यस सडकखण्डको जङ्गल रहेको चार किमीमा सडकको चौडाइ चार मिटर ढलान हुने र अरु बाँकी भागमा पाँच मिटर ढलान हुने तथा ढलान मोटाइ भने २० सेन्टिमिटरको हुने पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर राजेश अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार रसुवा जयदम्बा जेभी धादिङले विसं २०७८ असोज १३ मा निर्माणको सम्झौता गर्दै दुई वर्षमा सक्ने छ । हालसम्म यस सडकखण्डको कार्य आठ प्रतिशत मात्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
त्यस्तै यस करापुटार–डढुवा–साल्मे भञ्ज्याङ सडकअन्तर्गत नै ढलान हुने उक्त डढुवादेखि साल्मेसम्मको सडकखण्ड स्तरोन्नति कार्य भइरहेको छ । करिब आठ किमी सडकखण्डमा ग्राभेल, नाली, तारजाली, मेशिनरी पर्खाल, बाटो चौडाइ गर्ने कार्य भइहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
प्रदेश सरकारकै लगानीमा रु १७ करोड १५ लाख ४१ हजार ४५४ भ्याटसहित मोतिदान कम्पनीले सडक स्तरोन्नतिको जिम्मा लिएको छ । नालासहित आठ मिटर चौडाइको सडकखण्ड हुने भएको छ । यसको निर्माण अवधि दुई वर्षको भए पनि समय सकिसके पनि काम भने सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको पूर्वाधार ईञ्जिनीयर अधिकारीले बताउनुभयो ।
निर्माण सम्झौता गरेअनुसार म्याद यही फागुन ६ गतेसम्म रहेको थियो । शुक्रबार म्याद थप गर्दै आगामी असारभित्रमा सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको छ । यहाँ सडक स्तरोन्नति र ढलान हुन लागेपछि स्थानीय हर्षित भएका छन् । ग्रामीण कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय सहजरुपमा र केही समयसमेत छोटिने भएको छ ।