१३ बैशाख, काठमाडौं । संसारकै सबैभन्दा स्वादिष्ट र महँगाे मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने याे माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबारे जिज्ञासा जाग्नु स्वाभाविकै हो । 

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे नौ महिनाको विवरणमा दुई हजार सात सय १८ किलो सालमन माछा आयात भएको देखिन्छ । 

त्यस्तै विभागको विवरणअनुसार त्यही माछाको अन्य प्रकारसमेत गरी पाँच हजार नाै सय ५० किलो नेपाल भित्रिएको छ । अमेरिकी डलरको सञ्चिति कम भइरहेको बेला विदेशी नियोग वा होटल रेस्टुरेन्टले माछा आयात गरेको अनुमान गर्न सकिन्छ । ती माछाको आयात मूल्य एक करोड ९१ लाख ५४ हजार रुपैयाँ बराबर छ । ती माछाको आयातबाट सरकारले ५९ लाख १३ हजार रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको छ । 

त्यस्तै नेपाल आयात गरिने वस्तुमा एक रमाइलो विवरण हो गँगटाे । चालु आर्थिक वर्षकाे नौ महिनामा एक हजार आठ सय किलो गँगटाे नेपाल भित्रिएको छ । गाउँघरका खेतबारीमा पाइने र नेपालीको खास पहिचानसमेत नगरेको गँगटाेलाई डरलाग्दो प्राणीका रूपमा लिइन्छ । यस जलप्राणीको आयात मूल्य १२ लाख ८२ हजार रुपैयाँ बराबर छ । त्यसबाट सरकारले तीन लाख ८४ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । गँगटाे, सर्पको टाउको पनि नेपाल भित्रिएको छ । विभागका अनुसार नौ महिनाको अवधिमा ६२ किलो पैठारी भएको छ । त्यसको लागत मूल्य एक लाख २९ हजार रुपैयाँ बराबर छ । सरकारले ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

सुक्खा माछाको आयातको विवरण पनि त्यस्तै छ । विभागका अनुसार दुई लाख ९५ हजार ६१ किलो सुक्खा माछा आायत गर्दा सरकारले दुई करोड ९५ लाख दुई हजार रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ । त्यस्तो माछाको आयात मूल्य नौ करोड ६६ लाख ८१ हजार रुपैयाँ बराबर छ । 

नेपालमा बढी मात्रामा आयात हुनेमा क्याटफिससमेत देखिएको छ । नौ महिनाको अवधिमा तीन लाख ४८ हजार सात सय ५० किलो क्याटफिसको आयात मूल्य आठ करोड ३९ लाख सात हजार रुपैयाँ बराबर छ । त्यसबाट सरकारले दुई करोड ५६ लाख पाँच हजार रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ । माछाको मासु मात्रै पनि आयात भएको विभागको विवरणमा उल्लेख छ । नौ महिनाको अवधिमा आठ हजार किलो त्यस्तो मासु आयात भएको छ । त्यसको आयात मूल्य १८ लाख ८७ हजार रहँदा सरकारले पाँच लाख ७६ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । 

टुनाफिस नाै सय १० किलो नेपाल भित्रिँदा आयातकर्ताले २१ लाख ९९ हजार रुपैयाँ बराबर लागत मूल्य तिरेका छन् । त्यसबाट सरकारले ६ लाख ७१ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । 

विभागका अनुसार ५७ हजार एक सय ६८ किलो प्राउन नेपालमा पैठारी भएको छ । त्यसको लागत मूल्य तीन करोड ४८ लाख ६१ हजार रुपैयाँ छ । सरकारले राजस्व मात्रै एक करोड पाँच लाख २९ हजार रुपैयाँ सङ्कलन गरेको छ । झिङ्गे माछा मात्रै तीन हजार दुई सय किलो आयात भएको छ । त्यसको लागत मूल्य एक करोड ३७ लाख एक हजार बराबर रहँदा ४१ लाख आठ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । 

अर्को रमाइलो विवरण पनि छ । नेपालमा वैधानिक तवरबाटै दुई सय वटा कछुवा आयात भएको छ । त्यसको लागत मूल्य ८३ हजार छ र सरकारले २५ हजार रुपैयाँ राजस्व उठाएको छ । 

नेपालीले महीसमेत किनेर खाए 

घरभरि लैना बकेर्ना भैँसी पाल्ने, दैनिक नै भरपेट मही खाने नेपालीले पछिल्ला दिनमा त्यही महीसमेत विदेशबाट आयात गरेर पिउने गरेको छन् । गाउँमा कुनै युवा भेटिँदैनन् । वृद्धवृद्धाले चौपाया पाल्न सक्ने अवस्था छैन । खेतबारी बाँझो छ । सायद यसै कारण हुन सक्छ महीसमेत आयात गर्नुपर्ने अवस्था छ हाम्रो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षकाे नौ महिनाको अवधिमा नेपालीले दुई लाख १४ हजार लिटर मही खरिद गरेर पिएका छन् । नेपाल कृषि प्रधान देश भनिँदै आएको छ । ६५ प्रतिशत मानिस कृषिमा संलग्न रहेको सरकारी तथ्याङ्क पनि छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर छ । तर महीसमेत किनेर सेवन गर्नुपर्ने चरम परनिर्भर अवस्थामा नेपाली पुगेका छन् । 

विभागका अनुसार महीको आयात मूल्य तीन करोड ६४ लाख ७२ हजार बराबर छ । त्यसबाट सरकारले एक करोड आठ लाख ९० हजार रुपैइाँ बराबर राजस्व सङ्कलन गरेको छ । बटर मिल्क मात्रै ११ हजार आठ सय ७५ लिटर आयात भएको छ । दही १६ हजार दुई सय नाै लिटर आयात भएको छ । स्वादजन्य दूध र क्रिम मात्रै दुई हजार आठ सय २१ लिटर, हल्का दुग्धजन्य पदार्थ ९२ हजार दुई सय ७६ लिटर नेपालमा पैठारी भएको छ । दूध पाउडर पाँच लाख ३६ हजार एक सय लिटर, बच्चालाई खुवाउने दूध दुई लाख ४० हजार सात सय २० लिटर, दूध र क्रिम पाउडर फरक–फरक प्रकारका गरी १५ हजार लिटरभन्दा बढी आयात भएको छ । 

त्यस्तै बच्चालाई खुवाउने प्रशोधित दूध तीन लाख ७१ हजार आठ सय ९० लिटर, प्रशोधित दूध १२ हजार ४० लिटर, दूध (फ्याक्ट कन्टेन्ट) दुई हजार पाँच सय ३८ लिटर तथा दूध र क्रिम ३९ लिटर आयात भएको छ । विभागका अनुसार यस अवधिमा एक अर्ब सात करोड १९ लाख ३० हजार रुपैयाँ बराबरको दूध तथा दुग्धजन्य पदार्थको आयात भएको देखिन्छ । नेपालमा नै व्यावसायिक रूपमा पशुपालन गर्न सकिए मात्रै पनि ठूलो धनराशि विदेशिनबाट जोगिन सक्थ्यो । 

सरकारले विभिन्न ‘जोन’ नै तय गरेर कृषि उपजको उत्पादनमा वृद्धि तथा चौपाया पालनमा प्रेरित गरे पनि त्यसको सकारात्मक नतिजा आएको देखिँदैन । सरकारले आउँदाे आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आउँदाे बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने बताइसक्नुभएको छ । तर कार्यान्वयनको पाटो के कस्तो हुने हो भन्ने कुराले सबै कुरा निर्धारण गर्ने भएकाले यसै भन्न सकिने अवस्था भने छैन ।