१५ बैशाख, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिनुभएको छ । बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिनुभएको हो ।

उपप्रमुखमा मनोनयन दर्ता गराउनुभएका अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासी हुनुहुन्छ । बानियाँले नेपाली कांग्रेसबाट, शाहीले नेकपा (एमाले)बाट, लामिछानेले नेकपा (माओवादी केन्द्र )बाट र मुनाले नेकपा (एकीकृत समाजवादी)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

कांग्रेसबाट उम्मेदवार बन्नुभएकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुनुहुन्छ । विसं २०५४ मा वडा नम्बर ९ अर्थुङ्गेको वडासदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गर्नुभएकी उहाँ कांग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भइसक्नुभएको छ । साथी संस्था, लायन्स क्लब, महिला स्वयंसेविकालगायतमा रहेर उहाँले सामाजिक अभियन्ताको रुपमा काम गरिसक्नुभएको छ ।

एमालेबाट उम्मेदवार बन्नुभएकी शाही पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष हुनुहुन्छ । गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत सङ्घसंस्थामा आबद्ध भई उहाँ सामाजिक कार्यमा क्रियाशील हुनुहुन्छ ।

माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य हुनुहुन्छ । उहाँले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गर्नुभएको हो । विसं २०६० देखि राजनीतिमा सक्रिय उहाँ हाल विभिन्न सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ । लामिछाने यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित हुनुभएको थियो ।

एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हुनुहुन्छ । विसं २०४८ देखि राजनीतिमा सक्रिय उहाँ यसअघि एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो ।