२४ वैशाख, काठमाडौं । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो ।

खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि कुखुरा नष्ट गर्न थालिएको छ । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा सङ्क्रमण देखिएको हो । बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न थालिएको छ । अर्यालका अनुसार बर्डफ्लुका कारण प्रत्यक्ष, अप्रत्यक्षरूपमा रु २५ करोड हाराहारी नोक्सान हुने देखिएको छ ।

बीस वर्षअघिदेखि अर्यालले उच्चतम प्रविधि अपनाएर कुखुरा पाल्दै आउनुभएको छ । पोल्ट्री व्यवसायमा रु ७० करोडभन्दा बढी लगानी भइसकेको उहाँ बताउनुहुन्छ । भेटेनेरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका प्रमुख सुशील केसीका अनुसार देशभरमा बर्डफ्लुका कारण सबैभन्दा बढी नोक्सान चितवनमा भएको छ । हाल बर्डफ्लु देखिएको फार्म अहिलेसम्मको ठूलो र बढी नोक्सान हुने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा यसबाहेक ३१ वटा पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै देखिएको हो ।