जेठ १६, काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयतर्फ आठ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले श्रमजीवी पत्रकारहरूलाई प्रदान गरिँदै आएको दुर्घटना बीमा कार्यक्रम र लोककल्याणकारी विज्ञापन कार्यक्रमलाई निरन्तरता दिँदै यो सुविधा अनलाइन मिडियालाई समेत प्रदान गर्ने व्यवस्था मिलाएको बताउनुभयो । 

यस्तै बजेट भाषणमार्फत सरकारले पालिका तहसम्म ब्राेडब्यान्ड सेवाको पहुँच विस्तार गरिने जनाइएको छ । यस्तै हुलाक सेवालाई  आधुनिकीकरण र व्यवसायीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय र भरपर्दो निकायको रूपमा विकास गर्न यसको पुनर्संरचना  गरिने जनाएको छ ।

लोकतान्त्रिक पद्धति, सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चार क्षेत्रलाई थप मर्यादित, जिम्मेवार, व्यावसायिक र पारदर्शी बनाइने पनि सरकारले जनाएको छ ।