काठमाडौँ । पूर्व गोरखा सैनिक हरि बुढा मगरले पर्यटन प्रवद्र्धनका लागि सरकासँग जोडिन पाए धेरै भन्दा धेरै विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने बताउनुभएको छ । उहाँले आफूसँग धेरै विदेशीहरु जोडिएकाले उनीहरुलाई नेपालमा ल्याउनका लागि सरकारसँग जोडिनसके सहज हुने बताउनुभएको हो ।

शारीरिक अशक्त रहनुभएका उहाँ बुधवार काठमाडौंबाट सगरमाथा आरोहणका लागि सगरमाथा क्याम्पतिर प्रस्थान गर्नुहुनेछ । उहाँले सगरमाथा आरोहण आफैँमा चुनौतिको विषय भएको बताउँदै आफूले सफल आरोहाण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो परिचय नेपालमा भन्दा पनि बाहिर धेरै रहेको बताउनु भयो । उहाँले सरकारसँग जोडिएर काम गर्नसकेन पर्यटकहरुको वृद्धि गर्न आफूले सकारात्मक भुमिका खेल्ने बताउनु भयो ।

उहाँले सरकारले आफ्नो क्याम्पेनसँग सरकारले हातेमालो गरे नेपालमा विदेशी पर्यटक ल्याउन सहयोग पुग्ने बताउनु भयो । उहाँले सगरमाथा आरोहणका क्रममा सरकारसँग अन्य कुनै अपेक्षा नरहेको तर आफूलाई कुनै व्यवधान सिर्जना नगरिदिन सरकारसँग आग्रह गर्नुभएको हो । पूर्व गोरखा सैनिक मगरका दुवै खुट्टा छैनन् । उहाँ कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ’स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुनुहुन्छ । उहाँले आफ्नो काममा अहिले १६ जना नेपालीहरुलाई रोजगारीको अवसर दिएकोमा गर्व लागेको बताउनु भयो ।

सन् २०१० मा अफगानिस्तानको लडाईंमा उहाँले दुवै खुट्टा गुमाउनुभएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुनुहुन्छ । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गर्नुभएको छ । उहाँले २०१७ मा मेरा चुचुरो आरोहण गर्नुभएको थियो र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बन्नुभयो । उहाँको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उहाँ सगरमाथाको आधारशिविरसम्म पुगिसक्नुभएको छ ।