नेपाल कानून आयोगका पूर्वअध्यक्ष माधवप्रसाद पौडेलले विदेशी लगानी भित्र्याउनका लागि आवश्यक संयन्त्र बनाउन नेपाल सरकारलाई सुझाव दिनुभएको छ । विदेशी पुँजी, प्रविधि र सीप भित्र्याउनका लागि नेपाल सरकारले सम्बन्धित देशसँग सन्धि सम्झौता गर्नुपर्ने भएकाले त्यसका लागि संयन्त्र बनाउन आवश्यक रहेको उहाँको भनाई थियो ।

सोमवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै पूर्वअध्यक्ष पौडेलले विदेशी लगानीलाई संरक्षण गर्नका लागि पनि सम्बन्धित देशहरुबीच सन्धि सम्झौता गर्न आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले नेपाल सरकारलाई बाह्य मुलुकसँग सन्धि सम्झौता गर्दा फसिन्छ भन्ने सोचाई नराख्न पनि ध्यानाकर्षण गराउनु भयो ।

भारतीय प्रधानमन्त्रीको विदेश भ्रमणमा सबै भन्दा बढी जोड सन्धि सम्झौतालाई दिने गरेको उल्लेख गर्दै त्यसबाट नेपालका प्रधानमन्त्री र मन्त्रीहरुले पनि सिक्नुपर्ने पौडेलले बताउनु भयो । उहाँले विदेशी पूँजी, प्रविधि र सिप भित्र्याएर मुलुकको हीतमा काम गर्न पनि सरकार केन्द्रित हुनुपर्ने बताउनु भयो ।

पूर्वअध्यक्ष पौडेलले भारतसँग गरिएको सन् १९५० को सन्धि पुरारावलोकन गर्नका लागि राष्ट्रिय सहमति गरेर अघि बढ्न पनि सरकार लाग्नुपर्ने जरुरी रहेको बताउनु भयो । बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय हीतलाई सर्वोपरी ठानेर अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु अघि बढाउन सरकारलाई सचेत गराएका थिए ।