काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरुको रोजाईमा नपर्ने गरेको बताउनुभएको छ । 

मंगलवार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेताहरु मन्त्री बन्नका लागि तँछाड, मछाड गरेर भागबण्डामा हिँड्ने गरेको तर शिक्षा मन्त्रालय कमै मात्रै नेताहरुको रोजाईमा पर्ने गरेको बताउनु भयो । उहाँले पैसा नआउने मन्त्रालय भएका कारण पनि शिक्षा मन्त्रालय अधिकांश नेताहरुको रोजाइमा नपर्ने गरेको बताउनु भयो ।

पूर्वशिक्षा मन्त्रीसमेत रहनुभएका पौडेलले सामुदायिक शिक्षाको सुधार गर्नसके शिक्षा मन्त्रालय नेताहरुको पहिलो रोजाईमा पर्ने बताउनु भयो । उहाँले बाटो बनाउने मन्त्रालय भन्दा नागरिक बनाउने मन्त्रालय कम प्राथमिकतामा पर्ने गरेको बताउनु भयो । 

सचिव पौडेलले स्थानीय पालिका, विद्यालय व्यवस्थापन समिति र शिक्षकको सुधार गर्नसके सार्वजनिक विद्यालय आफैँ आकर्षणको केन्द्र बन्ने दाबी गर्नुभयो । उहाँले संघीय शिक्षा ऐन जारी नगरेसम्म सार्वजनिक शिक्षामा सुधार गर्न नसकिने बताउनु भयो ।