सौराहा । पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ ।

पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो । सौराहास्थित रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्वअध्यक्ष समेत रहनुभएका खतिवडाका अनुसार गएराति ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको थियो ।

हात्ती पीडाले कराएपछि हेर्न जाँदा यस्तो घटना देखिएको उहाँको भनाइ थियो । हात्तीलाई मार्ने उद्देश्यले नै सुँड काटिएको हुनसक्ने खतिवडाले बताउनुभयो । उहाँका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सुँड छ इन्च काटिएको छ । बाघमारा सामुदायिक वन जाने बाटोमा तीन वटा हात्ती एकै ठाउँमा बाँधेर राखिएकामा चन्चलकलीको सुँड काटिएको थियो ।

काटिएको सुँडको भाग जोड्न नमिल्ने अवस्थामा रहेको र उपचारका बारेमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक तथा प्राविधिकहरुबीच छलफल भइरहेको खतिवडाले बताउनुभयो । हात्तीले खानका लागि आहारा तान्न र कुनै कुरा टिप्न सुँडको प्रयोग गर्दछ । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रामेश्वर कार्कीले नेपाल प्रहरी र निकुञ्ज प्रशासनको सहयोगमा घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

हात्तीको सुँड काटिएको यो पहिलो घटना हो ।