काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज बिहान नौ बजे औपचारिक वार्ता हुँदै छ ।

यसअघि बिहीबार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो ।

बिहीवार बिहान सिंहदरबारमा शिक्षकहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल भएकाे थियाे । यद्यपी गृहमन्त्रीसँगको वार्ता निष्कर्ष बिहीन भएको थियाे । वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो ।

बिहीबार बेलुका फेरि गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री राईका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ सहित ती मन्त्रालयका सचिवहरुसहित शिक्षकका प्रतिनिधिहरुसँग छलफल भएको थियो ।

साँझ ७ बजेदेखि सुरु भएको छलफल बेलुका साढे ९ बजेसम्म चलेको थियो ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।