काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गर्नुभएको छ । 

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले उद्योगी व्यवसायीहरुले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताउनु भयो । उहाँले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गर्नुभयो । उहाँले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले व्यवसायीले बैंकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गर्नुभयो । गभर्नर अधिकारीले व्यवसायीहरुले बैंकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरुका लागि प्रोत्साहन मिल्ने बताउनु भयो । उहाँले ठूला व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरुको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरुले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पार्नुभयो ।

उहाँले उद्योगी व्यवसायीहरुले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको बताउनु भयो । उहाँले आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरुलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको बताउनु भयो ।