दक्षिण कोरियामा विपक्षी नेतामाथि प्राणघातक हमला भएको खबर सार्वजनिक भएको छ ।

बुसान शहरमा विपक्षी नेता ली जे म्युङको घाँटीमा छुरी प्रहार गरिएको छ । उनी पत्रकार सम्मेलन गरिरहँदा यो घटना भएको हो ।

डेमोक्र्याटिक पार्टीका प्रमुख ली जे-म्युङ बुसान शहरको गादेओक टापुमा रहेको विमानस्थल निर्माण स्थलको भ्रमण गरिसकेपछि सञ्चारमाध्यमका प्रश्नहरूको जवाफ दिँदै गर्दा बायाँबाट आएका एक व्यक्तिले उनको घाँटीमा छुरा हानेकाे बताइएकाे छ ।

दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार विपक्षी नेतामाथि आक्रमण गर्ने व्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।

उनी मंगलबार निर्माणाधीन विमानस्थलको स्थलगत अवलोकन गर्न आएका थिए । यसै क्रममा उनीमाथि आक्रमण भएको थियो ।

समाचार एजेन्सी योनहापका अनुसार आक्रमणकारीको उमेर ५० देखि ६० वर्षको बीचमा थियो। रिपोर्टका अनुसार, उनी अटोग्राफ माग्न लीको नजिक पुगे, त्यसपछि अचानक अगाडि बढे र उनको घाँटीमा आक्रमण गरे।