काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको भाडा घटाएसँगै वायुसेवा सञ्चालक संघले हवाइ भाडा घटाएको छ ।

आजबाट लागू हुने गरी हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैया घटेसँगै उडानको पनि भाडा घटाइएको वायु सेवा सञ्चालक सँघले जनाएको छ ।

सोअनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब सात हजार ७० भाडा कायम गरिएको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा तीन सय ४५ घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० कायम भएको छ ।

काठमाडौं–भद्रपुर रुटमा तीन सय, विराटनगरमा २४०, जनकपुरका लागि १३०, पोखराका लागि १५५, भरतपुरका लागि ११०, भैरहवाको २०५, नेपालगञ्जका लागि १८५ र सुर्खेतका लागि ३४५ हवाई भाडा घटेको छ ।